१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकसेवाको उत्तर कसरी लेख्ने ?



लोकसेवा आयोगलगायत प्रतिस्पर्धात्मक परीक्षामा धेरै पढेको र राम्रो ज्ञान भएकोभन्दा पनि राम्रो लेख्न सक्ने अर्थात् पढेको कुरा अधिकतम रूपमा परीक्षाको उत्तरपुस्तिकामा उतार्न सक्ने व्यक्ति नै सफल हुने गरेका छन् । नपढी त हुँदैन, तर पनि पढेर मात्र पनि सफलता हात नपर्न सक्छ । त्यसैले लोकसेवा आयोगलगायत प्रतिस्पर्धात्मक परीक्षामा प्रश्नले मागेका कुरा सकेसम्म मौलिक तरिकाबाट लेख्नुपर्छ ।

धेरै प्रतिस्पर्धीले तयारी कक्षा पढ्ने र प्रशिक्षकको नोटलाई विशेष आधारका रूपमा लिने हुनाले सबैको उत्तर एकै खालको हुन गई जाँचकीलाई मौलिकताविहीन उत्तरजस्तो पनि लाग्न सक्छ । सकेसम्म उत्तर लेख्दा सबै विषयवस्तु समावेश गरी, लेखाइको निरन्तरता र आबद्धता मिलाई, जाँचकीको ध्यान आकृष्ट गर्ने कुरामा जोड दिनुपर्छ । 

उल्लिखित पृष्ठभूमिमा लोकसेवा आयोगले लिने प्रतिस्पर्धात्मक परीक्षामा उत्कृष्ट अंक ल्याउन अपनाउनुपर्ने सावधानी र केही तरिका तल 
दिइएको छ :
१. प्रश्न गम्भीर भई पूरै पढ्ने, झुक्याउन खोजेको विषय, सन्दर्भ, पुच्छ्रे  प्रश्न पत्ता लगाउनुपर्छ ।
२. प्रश्नको उत्तर सरसर्ती मनमनै सम्झनुपर्छ ।
३. कति लेख्ने हो, त्यसको आँकलन गरी भूमिका, निष्कर्ष आवश्यक पर्छ–पर्दैन, यकिन गर्नुपर्छ ।
४. सकेसम्म सफा र प्रस्ट अक्षरमा शुद्ध उत्तर लेख्नुपर्छ ।
५. उत्तर लेख्दा प्रयोग गरिने मुख्य चार विधिमध्ये उपयुक्त विधिको छनोट गरी संरचनात्मक उत्तर दिनुपर्छ ।
(क) व्यवस्था, प्रयास, समस्याका क्षेत्र, सुधारका उपायलगायत प्रश्नको उत्तर दिँदा तीनवटा उपशीर्षक बनाउनु उपयुक्त हुन्छ ।
(अ) नीतिगत व्यवस्था : यसअन्तर्गत संविधान, कानुन, आवधिक योजना, क्षेत्रगत नीति र रणनीति, वार्षिक बजेट, सरकारको नीति तथा कार्यक्रम, अन्तर्राष्ट्रिय  
  सन्धि–सम्झौता आदिलाई उल्लेख गर्नुपर्छ ।
(आ) संस्थागत व्यवस्था : यसअन्तर्गत सरकारी क्षेत्र जस्तै– संघ, प्रदेश र स्थानीय सरकार, सोमातहतका मन्त्रालय, विभाग, आयोग, सचिवालय, परिषद्, केन्द्र, समिति, कार्यदल, परियोजना आदि उल्लेख गर्नुपर्छ ।
(इ)  कार्यक्रम, व्यवहार र आचरणगत व्यवस्थाः सअन्तर्गत सञ्चालित परियोजना तथा कार्यक्रमहरू, दैनिक अभ्यास, वर्तमान आचरण र संस्कार, सरकारी, निजी तथा सामाजिक क्षेत्रबाट गरिएका सबै प्रयास समेटी उत्तर दिनुपर्छ ।
(ख) संकट, विपत्, द्वन्द्व, परिवर्तन व्यवस्थापन, वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउने उपायजस्ता प्रश्नहरूको उत्तर समयक्रममा आधारित भई देहायका तीन उपशीर्षकमा लेख्दा राम्रो मानिन्छ :
(अ) वैदेशिक रोजगारीमा जानुपूर्व गर्नुपर्ने कामहरू,
(आ) वैदेशिक रोजगारीमा रहेका वेला गर्नुपर्ने कामहरू,
(इ) वैदेशिक रोजगारीबाट फर्किएपछि गर्नुपर्ने कामहरू,
(ग) भ्रष्टाचारका कारण, सुशासनका अवरोध, सेवा–प्रवाहका बाधा, दिगो विकासका आयामजस्ता प्रश्नको उत्तर देहायबमोजिमका उपशीर्षकअनुसार लेख्नु राम्रो मानिन्छ :
(अ) राजनीतिक कारण     (आ) आर्थिक कारण
(इ) सामाजिक कारण    (ई) सांस्कृतिक कारण
(उ) प्राविधिक कारण    (ऊ) शासकीय कारण
(ए) मनोवैज्ञानिक कारण    
(ऐ) वातावरणीय वा  पर्यावरणीय कारण
(ओ) कानुनी कारण    
(औ) व्यक्तिगत वा मानवीय कारण
(घ) संविधान, कानुन, योजना आदिबाट प्रश्न सोधेमा अगाडिबाट पछाडि जाने विधि वा उपशीर्षक निर्माण विधिबाट उत्तर लेख्नु राम्रो मानिन्छ ।
६. उत्तर लेख्दा सार्वजनिक रूपमा मानहानि हुने र गम्भीर आरोप लगाउने शब्दहरूको प्रयोग सकेसम्म गर्नु हुँदैन ।
७.     तर्क वा राय दिनुपर्ने प्रश्नको उत्तर लेख्दा एउटै तर्क वा राय दिनुपर्छ ।
८.     अनावश्यक रूपमा भूमिका र निष्कर्ष लेख्नु हुँदैन । 
९.     उत्तर लेख्दा कमजोरी मात्र औंल्याउने, दोष मात्र देखाउने, प्रतिक्रिया मात्र दिने, नकारात्मक टिप्पणी मात्र गर्ने गर्नुहुँदैन ।
१०. सकारात्मक मनोवृत्तिसहित उत्तर लेखी जिम्मेवार व्यक्तिको झल्को दिन सक्नुपर्छ ।
११. उत्तरमा एउटै बुँदा दोहो-याउने वा फरक–फरक तरिकाबाट लेख्नु हुँदैन ।
१२. उत्तरले व्यापक दृष्टिकोण राखेको र समस्याको समाधान दिनेतर्फ उन्मुख भएको हुनुपर्छ ।
१३. अरूको भन्दा फरक तरिकाबाट विषयवस्तु प्रस्तुत गरी जाँचकीको ध्यान र मन जित्न सक्नुपर्छ ।

समग्रमा, तपाईंले आफ्नो शैलीमा नै आफूलाई सक्षम देखाउनुपर्ने हुनाले समय व्यवस्थापन, शुद्धाशुद्धि, सकेसम्म क्रमिक रूपमा उत्तर लेखन, सन्तुलित, सकारात्मक र ठोस सुझाबसहितको वस्तुपरक उत्तरलगायत विषयमा उचित विचार पु-याई केही पनि गलत तथ्यांक प्रयोग नगरी, स्रोतसहित डाटा उदाहरणका रूपमा राखी उत्तर लेख्दा प्रतिस्पर्धामा खरो उत्रिन सकिने मेरो विश्वास छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : ४३ बजे