७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम



सिन्धुपाल्चोक । मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन ।

गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सयौँ स्थानीयवासी विस्थापित भए । उनीहरु हालसम्म अस्थायी टहरामै बस्दैआएका छन् । उनीहरु सुरक्षित वासस्थानको पर्खाइमा छन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारबिहीनलाई रु पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ । बाढीले घरखेत बगाएपछि बेसहारा बन्नुभएका हेलम्बु–२ गणेशेबगरका गोरी तामाङका आँखा अझै ओभाएका छैनन् । बाढीले उनको   घर बगायो भने खेत बगरमा परिणत भयो । उनि   हाल सुुकुम्बासी बन्नुपरेको  छ । “सरकारले घर बनाइदिने आश्वासन दिएको थियो, अझै त्यो हुन सकेको छैन”, उनले पीडा सुनाए   ।

हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले ५५१ घर बगाएको थियोे । पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भए । हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढी पीडित सरकारको बाटो हेरेर बसिरहेका छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १ : २९ बजे