६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालयलाई कम्प्यूटरसहित बाल कक्षाका सामग्रीहरु सहयोग



गोरखा l संभव नेपालले गोरखाको आरुघाट गाउँपालिका ६ आप्रिकको देवी जलकुमारी माध्यमिक विद्यालयलाई १७ थान कम्प्यूटरसहित बाल कक्षाका सामग्रीहरु सहयोग गरेको छ ।

कम्प्यूटर १७ थान, १७ वटा ब्याकप, १७ थान कम्प्यूटर टेबल, एउटा प्रिन्टर, स्पिकर सहयोग गरेको विद्यालयका प्रधानाध्यापक जीवन गुरुङले बताए । ‘पहिले हामीसँग पाँचवटा कम्प्यूटर थियो, विद्यार्थीलाई सिकाउन समस्या थियो’, उनले भने, ‘अब १७ वटा थपिएपछि सजिलो भएको छ ।’ अब केही थप भएमा एउटा कक्षाका हरेक विद्यार्थीले एक पटकमा सिक्न सक्ने गरी ब्यवस्था हुने उनले बताए ।

२०६ जना विद्यार्थी रहेको उक्त विद्यालयमा संभव नेपालले यसअघि ८ कोठे भवन र शौचालय पनि निर्माण गरिदिएको  प्रधानाध्यापक गुरुङले बताए । करिब चारलाख रुपैयाँ बराबरको मन्टेश्वरीका लागि चाहिने सामग्री, विद्यालय रङ्गरोगन लगायतका काम यसवर्ष भएको संभव नेपालका कार्यक्रम संयोजक उत्तम अधिकारीले बताए ।

आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले कम्प्यूटर हस्तान्तरण गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा गाउँपालिका रहेको बताईन् । साथै उनले संभव नेपालले पालिकाभित्रका विद्यालयमा शैक्षिक सामग्री, कम्प्यूटर, पोशाक, झोला लगायत सामग्री सहयोग गर्दै आएकाले विद्यार्थीलाई सजिलो भएको बताइन् ।

संभव नेपालका अध्यक्ष प्रेमकुमार खत्रीले अहिलेको आवश्यकता र विद्यार्थीको चाहना अनुसार कम्प्यूटर सहयोग गरेको बताए । ‘कम्प्यूटर शिक्षा विद्यालय तहमा दिन सकियो भने उच्च शिक्षा पढ्दासम्म यसबारे विद्यार्थीले धेरै ज्ञान पाउँछन्, अभ्यस्त हुन सहज हुन्छ’, उनले भने । कम्प्यूटरको सहायताले नयाँनयाँ विषय खोजी गर्न, पठन पाठनमा पनि सहज हुने उनले बताए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ६ का अध्यक्ष राजिव गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति थियो ।

तीनवर्षदेखि माध्यामिक तह सुरु भएको उक्त विद्यालयमा निमावि र मावि तहको स्थायी दरबन्दी भने एउटा पनि छैन । अहिले प्रावि तहको सात स्थायी दरबन्दी, शिक्षक सिकाई अनुदानका निमावि एक र गाउँपालिका अनुदानबाट निमावि एउटा दरबन्दी मात्रै रहेको प्रधानाध्यापक जीवन गुरुङले बताए ।

निमावि र मावि तहमा दरबन्दी नहुँदा समस्या भएको उनले बताए । संभव नेपालले गोरखाका अन्य विद्यालयमा पनि पोसाक, झोला, स्टेशनरी सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  २ : ३७ बजे