१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरपालिकाको नीति तथा कार्यक्रम, रक्सीलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ



काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक सार्वजनिक गरेको छ ।

आइतबार महानगरका मेयर बालेन (बालेन्द्र) साहले नगरसभाको ११ औं अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

स्थानीय नेवाः रक्सी ‘ऐला’ लाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने, पानी पुनर्भरणका लागि सबै कार्यालयहरुका खाली परिसरमा पोखरी र रिभर्स बोरिङ बनाउने, महानगरमा ‘एम्फी थिएटर’ बनाउने, महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने लगायतका घोषणा गरिएका छन् ।

काठमाडौं उपत्यकामा मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयहरुसँग सहकार्य गर्नेदेखि लिएर फोहोरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमा नै वर्गीकरण गर्नेसम्मका विषय घोषणा गरिएका छन् ।

 काठमाडौंबासीको टाउको दुखाईको विषय बनेको छ– फोहोर व्यवस्थापन । यसबारे नीति तथा कार्यक्रममा भनिएको छ, ‘स्रोतमै वर्गीकरण, ‘जेरो वेस्ट’ नीति कार्यान्वयन गरिनेछ ।’ फोहोरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमा नै वर्गीकरण गर्ने व्यवस्था मिलाइने घोषणा गरिएको हो । कुहिने फोहोरलाई घरमै मल बनाउने महानगरवासीका लागि सोही प्रयोजनमा लाग्ने शुल्कमा विशेष सहुलियत दिने प्रबन्ध मिलाइने भन्दै स्रोतमै वर्गीकरण गर्ने घोषणा गरिएको छ ।

 प्रविधिमा आधारित फोहोरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहरमैला दीगो व्यवस्थापन गरिने घोषणा गरिएको छ । यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सोको प्राप्ति, स्थापना, विकास र सञ्चालनको कार्य गर्न एक छुट्टै परियोजना गठन गरी ‘जेरो वेस्ट’ कार्यान्वयन अवधारणा नीति लिइने घोषणा गरिएको छ ।

 नागरिकका कुरा सुन्न हरेक आइतबार ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ । बालेनले नीति तथा कार्यक्रममा महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने बताए ।

काठमाडौं महानगरपालिकाले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने भएको छ । नीति तथा कार्यक्रममै कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गरिने उल्लेख छ ।

काठमाडौं महानगरले करदाताको स्वास्थ्य बीमा गर्न ५० प्रतिशत अनुदान दिने विषय पनि समावेश छ । काठमाडौं महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको हो । कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरिएको छ ।

 काठमाडौंका बस स्टपहरुमा फल्चा बनाउने पनि घोषणा गरिएको छ । यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा फल्चा निर्माण गर्न विभिन्न संघ संस्थालाई प्रोत्साहित गर्ने भनिएको छ । महानगर आफैंले पनि यसमा लगानी गर्ने र डबलीहरु पनि पुनस्थापना गर्ने घोषणा गरिएको छ ।

पानी पुनर्भरणका लागि कार्यालयका खाली परिसरमा पोखरी र रिभर्स बोरिङ गर्ने भनिएको छ । महानगरभित्रका रहेका सरकारी, सार्वजनिक, निजी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने भनिएको छ ।

सार्वजनिक निजी साझेदारीमा सार्वजनिक शौचालयहरु सञ्चालन गर्ने नीति लिइएको छ । पुराना हिटी र पोखरीहरुको पुननिर्माण गर्ने योजना ल्याइएको छ ।

काठमाडौंमा ‘एम्फी थिएटर’ बनाउने घोषणा गरिएको छ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘कला क्षेत्रलाई प्रबर्द्धन गर्नका लागि काठमाडौं महानगर क्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र एम्फी थियटर निर्माण गरिनेछ ।’

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति, बौद्ध, स्वयम्भु र बसन्तपुर क्षेत्रको संरक्षण गरिने, स्वयम्भु र बौद्धको व्यवस्थापन काठमाडौं महानगरपालिका अन्तर्गत ल्याउन पहल गरिने उल्लेख छ ।

महानगर क्षेत्र भित्र मनाइने जात्रा, पर्व, मेला, पूजा, परम्परागत जीवन शैली एवं अन्य सांस्कृतिक सम्पदाहरुको मुख्य परिचयात्मक विवरण समेटी काठमाडौं महानगरको सांस्कृतिक प्रोफाइल तयार गरी प्रकाशित गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।

महानगरभित्र होमस्टे सञ्चालन गर्ने भनिएको मात्रै छैन, थालनी हाँडीगाउँबाट गरिने घोषणा गरिएको छ । मेट्रोको अध्ययन गर्न संघ सरकारसँग सहकार्य गर्ने पनि घोषणा गरिएको छ ।

 महानगरका कर्मचारी चढ्ने सवारी सुविधालाई कार्य सम्पादनमा आधारित बनाउने भनिएको छ । महानगरपालिकाका हलुका सवारी साधनलाई कार्य सम्पादनको आधारमा व्यवस्थापन गर्न सवारी साधन मापदण्ड तर्जुमा गरी लागू गर्ने घोषणा गरिएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ११ : २४ बजे