१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किन यसरी बढ्यो शेयर बजारको रौनक ?



शेयर बजारमा लगानीकर्ताहरूले दिनदिनै अवसरको सिर्जना गरिरहेका छन्। पछिल्लो एक महीनामा मात्रै लगानीकर्ताहरूको सम्पत्ति चार खर्ब रूपैयाँभन्दा बढीले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत रहेका कम्पनीहरूको शेयरको कुल मूल्य (बजार पुँजीकरण) रु. २६ खर्ब ३८ अर्ब पुगेको छ।

पाँच महीना अघि शेयर बजारमा सूचिकृत कम्पनीहरुको कुल मूल्य रु. १५ खर्ब ५९ अर्ब मात्रै थियो। अर्थात, यसबीचमा लगानीकर्ताहरुको शेयरको कुल मूल्य झण्डै रु. ११ खर्बले बढिसकेको छ।

कोरोनाभाइरस संक्रमणको महामारीका कारण अर्थतन्त्रमा गहिरो झट्का तथा कैयौं क्षेत्रका व्यवसायमा संकट परे पनि शेयर बजारमा भने लगातार चमक आइरहेको छ। गत मध्य असारबाट शेयर बजार परिसूचक लगातार जस्तो उकालो चढिरहेको छ। बजारका पूराना खेलाडी मात्रै होइन, थपिइरहेका साना र नयाँ कारोबारीहरूले आत्मविश्वासपूर्वक लगानी खन्याइरहेको देखिन्छ। शेयर किन्ने मागको चापका कारण शेयर बजार परिसूचक नेप्से पाँच महीनाका बीचमा करीब ७९० अंकले बढेर १ हजार ९६८ अंक पार गरेको छ।

नेप्से परिसूचकले पार गरेको यो अहिलेसम्मकै सर्वाधिक उच्च विन्दु हो। दैनिक कारोबार रकम समेत ह्वात्तै बढेको छ। जस्तै, १४ मंसीरको एकै दिन शेयर बजारमा रु. ९ अर्ब २३ करोडको शेयर किनबेच भयो। 

पछिल्लो एक महीनामा शेयर बजार परिसूचक नेप्सेको वृद्धि ।

अर्थतन्त्रमा निराशाका बीच के कारण छ जसले बजारलाई चम्किलो बनाइरहेको छ ? बजारका लगानीकर्ता तथा विश्लेषकहरू एक मात्र होइन, धेरै कारणले बजारमा छलाङ आएको अनुमान गर्छन्। पूर्वब्यांकर तथा शेयर बजारको विश्लेषण गर्दै आएका अनलराज भट्टराई बजारको डिजिटाइजेसन, ब्यांकको सस्तो ब्याजदर लगायतका कारणले लगानीकर्ताको आत्मविश्वास बलियो बनाएको बताउँछन्।

बजारका पूराना खेलाडी मात्रै होइन, थपिइरहेका साना र नयाँ कारोबारीहरूले आत्मविश्वासपूर्वक लगानी खन्याइरहेको देखिन्छ। शेयर किन्ने मागको चापका कारण शेयर बजार परिसूचक नेप्से पाँच महीनाका बीचमा करीब ७९० अंकले बढेर १ हजार ९६८ अंक पार गरेको छ।

अहिले ब्यांक तथा वित्तीय संस्थाले दिने ऋणको ब्याजदर निकै घटेको छ। कोरोना भाइरसको महामारी शुरू हुनुअघि गत फागुनमा ब्यांकको बचत खातामा सर्वसाधारणले औसतमा ४.७८ प्रतिशत र विभिन्न नामका बचत खातामा ६ प्रतिशतभन्दा बढीसम्म ब्याजदर पाउँथे। अहिले त्यस्तो ब्याजदर दुई तिहाईसम्मले घटेको छ। ब्यांक तथा वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य रकम (तरलता) रहेका कारण ब्याजदर घटेको हो। त्यसैले, ब्याज रकम थोरै आउने ब्यांकमा रकम जम्मा गर्नु भन्दा झिकेर शेयर बजारमा लगानी गर्दा फाइदा हुने देखेर लगानी गर्नेहरु बढेका छन्। 

लामो समय शिथिल रहेको शेयर बजारलाई गति दिएको अनलाइन कारोबारले हो। प्रविधिले बढाएको सहज पहुँचका कारण पनि शेयर बजारमा चहलपहल बढेको छ। अनलाइन प्रविधिमार्फत् मोबाइल वा कम्युटरको सहायताले जहासुकै बसेर शेयर किनबेच गर्न सकिने हुँदा यसअघि जस्तो धितोपत्र दलाल कम्पनीको कार्यालयमै पुगेर शेयर किनबेच गर्नुपर्ने बाध्यता छैन। यसले स–सानो रकम भएकाहरुले समेत घरैबाट शेयर किनबेच गर्न सक्ने भएका छन्। शेयर बजारका एक पूराना लगानीकर्ता निरन्जन टिबरेवाल संसारभरि अनलाइन कारोबार शुरू भएपछि बजार बढेको उदाहरण दिँदै नेपालमा पनि बजार उत्साहजनक ढंगले बढनु पछाडि यही कारण रहेको औंल्याउँछन्। 

लगानीकर्ताको आत्मविश्वास खस्किएका कारण लामो समयसम्म राम्रो प्रतिफल दिने कम्पनीहरुको शेयर मूल्य पनि असाध्यै न्यून रहेको र अहिले लगानीकर्ताको माग बढेकाले बजारमा चमक आएको अनुमान पनि गरिन्छ। कतिपय अघिल्ला अर्थमन्त्री युवराज खतिवडाका तुलनामा उदार छविका मानिएका विष्णु पौडेलको नियुक्तिले पनि लगानीकर्ताको आत्मविश्वास बढेको बताउँछन्। टिबरेवाल पनि यो तर्कमा सहमत छन्। बितेका वर्षहरुमा अर्थतन्त्रमा उच्च आर्थिक वृद्धि भए पनि शेयर बजार लामो समयसम्म शिथिल रह्यो। अहिले यसको शिथिलताको चक्र पूरा भएर फड्को मार्ने चक्र शुरू भएको लगानीकर्ताहरुको अनुमान छ।

शेयर बजारलाई देशको अर्थतन्त्रको ऐना भन्ने पूरानो चलन छ। त्यसैले, अर्थतन्त्र शिथिल भएका बेला पनि शेयर बजारमा देखिएको उत्साह अस्वभाविक भएको टिप्पणी कतिपयले गर्छन्।

तर, यस्तो वृद्धि कहिलेसम्म कायम रहन्छ भन्ने अनुमान गर्न सजिलो भने छैन। विश्लेषक भट्टराई चाहिँ यस्तो वृद्धिको चक्र बल्ल शुरू भएको बताउँछन्। उनी भन्छन्, “बजारमा माग पक्ष बलियो बनिरहेको छ, त्यसैले आगामी महीनाहरूमा शेयर बजारमा थप नयाँ नयाँ रेकर्ड बन्दै जानेछन्।”

शेयर बजारलाई देशको अर्थतन्त्रको ऐना भन्ने पूरानो चलन छ। त्यसैले, अर्थतन्त्र शिथिल भएका बेला पनि शेयर बजारमा देखिएको उत्साह अस्वभाविक भएको टिप्पणी कतिपयले गर्छन्। तर, विश्लेषक भट्टराई भने संसारभरि अर्थतन्त्र कमजोर भए पनि शेयर बजार बढिरहेको तर्क गर्छन्। 

लगानीकर्ता टिबरेवाल शेयर बजारमा दिनदिनै अवसरको सिर्जना भइरहेको र यो उत्साह कायम राख्न सरकारले नीतिगत रूपमा प्रोत्साहित गर्नुपर्ने बताउँछन्। “जुन आत्मविश्वास लगानीकर्ताले देखाएका छन्, त्यसलाई कायम राख्न सरकारले सहयोग गर्नुपर्छ,” उनी भन्छन् ।

खासगरी शेयर बजारमा विदेशी लगानी भित्र्याउने, कर छुट दिने तथा अन्य प्रोत्साहित गर्ने खालका नीति अघि सार्नुपर्ने उनको तर्क छ। यसो गर्दा, पूँजीबजारले भविष्यको लगानी विस्तारका लागि नयाँ अवसर दिने उनको टिबरेवाल बताउँछन्। उनी भन्छन्, “शेयर बजारलाई जुवाघर भन्ने अनुदार सोच राख्नुको सट्टा आर्थिक विकासका लागि अवसरको क्षेत्र हो भनी स्वीकार्नुपर्छ ।”

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ८ : ४९ बजे