९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुलुकको समृद्धिको यात्रामा सबै क्षेत्रको सहयोग र सहकार्य हुनुपर्छ : राष्ट्रपति भण्डारी



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको समृद्धिको यात्रामा राज्यको प्रयासमा सङ्घसंस्था एवं निजी क्षेत्रको पनि साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वन ले आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले ठूलो राजनीतिक परिवर्तनपछि नेपाल समृद्धिको यात्रामा अगाडी बढिरहेकाले मुलुकको यस यात्रामा सबै क्षेत्रको सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो ।

विभिन्न समयहरूमा लायन्स क्लब ईन्टरनेशनल जस्ता सङ्घ संस्थाको भूमिका निकै प्रभावकारी देखिएको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले मुलुकको कृषि र उद्योगको विकासबाट रोजगारी सृजना गर्ने गरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले समाजमा रहेका कुसंस्कारहरूको अन्त्य गर्दै समृद्ध समाजको निर्माण गर्न सरकारको प्रयासमा सबैको हातेमालो हुनसक्ने हो भने त्यसले राम्रो परिणाम दिने बताउनुभयो ।

सोही समारोहमा राष्ट्रपति भण्डारीले नेपालमा लायन्स क्लबका संस्थापक सदस्य मुलचन्द राठी र किसनलाल दुगडलाई सम्मान गर्नुभयो । 

यसैगरी, नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनुभएकी विराटनगरकी इन्दुदेवी नौलखालाई राष्ट्रपति भण्डारीले सम्मान गर्नुभयो । 

२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा विराटनगरकी इन्दुदेवी नौलखाले कोइराला परिवारलाई आफूसँग रहेको एक सय तोला सुन क्रान्तिका लागि समर्पण गर्नुभएको थियो । 

समारोहमा राष्ट्रपति भण्डारीले वरिष्ठ समाजसेवीहरू नन्दकिशोर राठी, मुकुन्दराज पाण्डे र शेषनारायण श्रेष्ठलाई पनि सम्मान प्रदान गर्नुभयो । 

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ ए–वन का डिष्ट्रिक गभर्नर रेवतबहादुर कार्कीले लायन्स क्लब सदैव सेवा भावले समाजमा सहयोग र सेवाको काम गर्दै आएको बताउनुभयो । 

तस्बिर : सुनिल बज्राचार्य (राष्ट्रपति कार्यालय)

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : २४ बजे