६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हजारौँ नागरिक किन त्याग्दै छन् भारतीय नागरिकता



काठमाडौँ– भारतीय गृह मन्त्रालयका अनुसार सन् २०२१ मा १ लाख ६३ हजार ३७० जना भारतीयले भारतको नागरिकता त्यागेका छन् । संसद्मा पेस गरिएको कागजातमा यी व्यक्तिले व्यक्तिगत कारण देखाउँदै नागरिकता त्याग्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

नागरिकता त्याग गर्नेमध्ये सबैभन्दा धेरै ७८ हजार २ सय ८४ जनाले अमेरिकी नागरिक बन्नका लागि भारतीय नागरिकता त्यागेका छन् । यसपछि २३ हजार ५ सय ३३ जनाले अस्ट्रेलियाको नागरिकता लिएका छन् भने २१ हजार ५ सय ९७ जनाले क्यानडाको नागरिकता लिएसँगै भारतीय नागरिकता त्यागेका छन् ।

चीनमा बसोबास गर्दै आएका ३ सय जनाले पनि चीनकै नागरिकता लिएका छन् भने ४१ जनाले भारतको नागरिकता छाडेर पाकिस्तानको नागरिकता लिएका छन् । सन् २०२० मा भारतीय नागरिकता छाड्नेहरूको सङ्ख्या ८५ हजार २ सय ५६ रहेको थियो भने २०१९ मा १ लाख ४४ हजार १७ जनाले नागरिकता त्यागेका थिए । सन् २०१५ देखी २०२० को बिचमा ८ लाख भन्दा धेरै जनाले भारतको नागरिकता त्यागेका छन् । सन् २०२० मा कोरोनाको कारण यो सङ्ख्या केही कम देखिएको थियो ।

यस पटक तथ्याङ्क बढ्नुको कारण कोरोनाका कारणले गर्दा नागरिकता लिन नसकेका कतिपयले यो वर्ष पनि नागरिकता पाएका हुन सक्ने परराष्ट्र मामिलाका विज्ञ हर्ष पन्तको भनाई छ । भारतीयहरू खिर किन आफ्नो देशभन्दा बाहिर बस्न चाहन्छन्, र किन आफ्नो देशको नागरिकता त्याग्न चाहन्छन् भनेर बिबिसीले नागरिकता त्याग गरेका, गर्ने सोच राखेका केही नागरिक र विशेषज्ञसँग कुराकानी गरेको छ–
अमेरिकामा बस्दै आएकी भावना (नाम परिवर्तन) भन्छिन्– यदि भारतले आफ्नो नागरिकता त्याग्ने दरलाई नियन्त्रण गर्ने हो भने विभिन्न कदम चाल्नुपर्नेछ । उनकाअनुसार नागरिकलाई विभिन्न प्रकारको सुविधा, नयाँ अवसरदेखि दोहोरो नागरिकतासम्मका राम्रा सुविधा दिनेबारे विचार गर्न आवश्यक छ ।

भावना सन् २००३ मा जागिरको सिलसिलामा अमेरिका गएकी थिइन् । उनले त्यहीँ बस्ने निर्णय गरिन् । त्यहीँ उनकी छोरी पनि जन्मिइन् । त्यसपछि उनले ग्रिन कार्डका लागि आवेदन दिइन् र केही वर्षअघि त्यहाँको नागरिकता अर्थात् ग्रिन कार्ड प्राप्त गरिन् ।
भावना भन्छिन्, “यहाँको जीवन एकदमै सहज छ । जीवनस्तर धेरै राम्रो छ । बच्चाहरूले पढाइमा राम्रो गर्छन् । उनीहरूले भारतमा भन्दा राम्रा अवसर समेत पाउनेछन् । साथै, कामको वातावरण पनि धेरै राम्रो रहेको उनी बताउँछिन् ।

क्यानडामा बस्ने २५ वर्षीय अभिनव आनन्दको पनि यस्तै धारणा छ । उनी क्यानडामै पढेर एक वर्षदेखि त्यहीँ काम गरिरहेका छन् । उनी अझै पनि भारतीय राहदानी प्रयोग गर्छन् तर भारतको नागरिकता त्याग्न तयार छन् । विभिन्न कारणहरूमध्ये राम्रो काम गर्ने वातावरणका कारणले गर्दा आफू भारत फर्किन नचाहेको उनको भनाई छ ।

यसबारे विदेश मामिलाका विज्ञ हर्ष पन्त धेरैजसो मानिस राम्रो काम, राम्रो पैसा, र आरामदायी जीवनको खोजीमा देश छाड्ने गरेको बताउँछन् । उनकाअनुसार ठुला देशहरूमा विभिन्न प्रकारका सुविधा हुने भएकाले उनीहरूले देश र नागरिकता दुवै त्याग्ने गरेका छन् ।
हरेन्द्र मिश्र वरिष्ठ पत्रकार हुन् उनी २२ वर्षदेखि इजरायलमा बस्दै आएका छन् । उनी भारतसँग भावनात्मक रूपमा जोडिएकाले भारतको नागरिकता त्याग्न नसक्ने बताउँछन् । तर, उनकी श्रीमती इजरायलकी हुन् र उनका छोराछोरी त्यहीँ जन्मिए र त्यहीँको नागरिकता छ ।

तर, भारतीय राहदानीको कारणले गर्दा धेरै समस्या आउने गरेको उनी बताउँछन् । उनलाई धेरैजसो देशमा जान भिसा लिनुपर्छ । उनी भन्छन्, “म भारतसँग यति जोडिएको छु कि त्यसै कारण त्यहाँको नागरिकता त्याग्न चाहन्न, तर त्यो बाहेक मलाई अन्य केही फाइदा छैन ।

भारतीय राहदानीमा भिसा बिना ६० देशमा जान सकिन्छ तर यो अन्य धेरै देशको तुलनामा निकै कम हो । राहदानी र्‍याङकिङमा भारत हाल १ सय ९९ मध्ये ८७ औँ स्थानमा छ । भारतले दोहोरो नागरिकताको प्रावधान ल्याएमा नागरिकता त्याग्ने दरमा कमी आउन सक्ने मिश्रको भनाई छ ।

अभिनव आनन्द पनि आफू अर्को देशको नागरिकता लिन खोजिरहेको बताउँछन् तर, यस्तो कदम बाध्यतावश चाल्नु परेको उनको भनाइ छ । भारतले दोहोरो नागरिकता नदिएको कारण आफूसँग नागरिकता त्याग्नुको विकल्प नरहेको उनले बताए ।

भावनाले अहिले नागरिकता त्यागेकी छिन् । उनीसँग ओसीआई कार्ड छ तर दुई वटा नागरिकता भएको भए राम्रो हुने उनको भनाई छ । भारतमा दोहोरो नागरिकताको व्यवस्था छैन । अर्थात् अरू कुनै देशको नागरिकता चाहने नागरिकले भारतको नागरिकता त्याग्नुपर्छ ।

ओसीआई कार्ड भनेको विदेशमा बसोबास गरी त्यहाँको नागरिकता लिएका भारतीयका लागि विशेष प्रकारको सुविधाको नाम हो । यसको अर्थ ‘ओभरसिज सिटिजन अफ इन्डिया’ हो ।

विश्वका धेरै देशमा दोहोरो नागरिकताको सुविधा छ, तर भारतमा भने भारतीय नागरिकता कानुन अनुसार, यदि कुनै व्यक्तिले अर्को देशको नागरिकता लिन्छ भने उसले आफ्नो भारतीय नागरिकता त्याग्नै पर्छ । अमेरिका, बेलायत वा क्यानडा जस्ता देशको नागरिकता लिएका तर भारतसँगको सम्बन्ध भने कायमै रहेका यस्ता व्यक्तिको सङ्ख्या लाखौँमा छ ।

भारतको नागरिकता त्यागेपछि ती व्यक्तिलाई भारत आउन भिसा लिनुपर्ने थियो । त्यस कारण त्यस्ता मानिसको सुविधालाई ध्यानमा राख्दै, भारत सरकारले सन् २००३ मा पीआईओ कार्डको व्यवस्था गरेको हो ।

यस प्रकारको कार्डको अर्थ ‘पर्सन अफ इन्डियन ओरिजिन’ हो । यो कार्ड १० वर्षको लागि राहदानी जस्तै जारी गरिएको थियो । त्यसपछि प्रवासी भारतीय दिवसको अवसरमा, भारत सरकारले सन् २००६ मा हैदराबादमा ओसी आई कार्ड दिने घोषणा ग¥यो । लामो समयसम्म पीआईओ र ओसी आई कार्ड दुवै प्रचलनमा थिए तर २०१५ मा पीआईओको प्रावधान खारेज गरेर सरकारले ओसी आई कार्डलाई निरन्तरता दिने घोषणा गर्‍यो ।

ओसीआई कार्डले जीवनभरको लागि भारतमा बस्न, काम गर्न र सबै प्रकारका आर्थिक लेनदेनहरू गर्न अनुमति दिन्छ, साथै यस कार्ड प्राप्त व्यक्तिले चाहेको बेला  भिसा बिना भारत आउन सक्छ । यो कार्ड कार्ड जीवनभरको लागि मान्य रहेको छ ।

भारतीय गृह मन्त्रालयको वेबसाइटका अनुसार ओसीआई कार्ड प्राप्त मानिसलाई भारतीय नागरिकलाई जस्तै सबै प्रकारका अधिकारहरू रहेका छन् तर उनीहरूले चुनाव लड्न, भोट हाल्न, सरकारी जागिर वा कुनै पनि सरकारी पदमा जान र खेती गर्ने जग्गा जमिन खरिद गर्न भने सक्दैनन् । अहिलेको आर्थिक अवस्था हेर्दा आगामी केही वर्षमा यो सङ्ख्यामा कमी आउन सक्ने परराष्ट्र मामिलाका विज्ञ पन्त बताउँछन् । उनका अनुसार अन्य देशको अवस्थाभन्दा भारतको आर्थिक अवस्था राम्रो छ, अब यहाँ धेरै अवसर आउनेछन् । त्यसैले मानिस भारतमा बस्न चाहन्छन् ।

बीबीसीबाट 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : २९ बजे